
काठमाडौं । एकै दिन जापानमा दुई नेपालीले आत्महत्या गरे । यही असार १ गते आत्महत्या गर्नेमा एक पुरुष विद्यार्थी थिए भने अर्को डिपेन्डेन्ट भिसामा गएकी महिला थिइन् ।
पछिल्ला केही महिनायता जापानमा आत्महत्या गर्ने नेपालीको संख्या ह्वात्तै बढेको छ । आत्महत्या गर्नेमा ठूलो संख्या ‘स्टुडेन्ट भिसा’ मा जानेहरू छन् ।
“एघार महिनामा ६६ जना नेपालीको जापानमा मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ठूलो संख्या आत्महत्या गर्नेको छ । यसमा पनि यहाँ पढ्न आउने विद्यार्थी बढी छन्,” जापानका लागि कार्यवाहक राजदूत हरिहरकान्त पौडेलले बाह्रखरीसँग भने ।
२०८२ साउन १ गते देखि २०८३ असार १ गतेसम्म ११ महिनामा २७ जना नेपालीले आत्महत्या गरेको नेपाली दूतावासको तथ्याङ्कले देखाउँछ । यसरी मृत्यु हुनेमा १६ जना ‘स्टुडेन्ट भिसा’मा जानेहरू छन् ।
“आत्महत्या किन रोजे भन्नेबारे गहन अनुसन्धान त भएको छैन । तर, ठूलो महत्वकांक्षा लिँदै यहाँ आउने र त्यो पूरा नहुँदा छिट्टै निराश हुने गरेको पाइएको छ । जसकाकारण उनीहरू अप्रिय निर्णयसम्म पुग्ने गरेको देखिन्छ,” उनले भने ।
जापान सरकारको तथ्याङ्कअनुसार, सन् २०२५ को अन्तसम्म जापानमा नेपाली विद्यार्थीको संख्या एक लाख १६ हजार १५१ छ । जापानमा चिनियाँपछि दोस्रो ठूलो संख्या नेपाली विद्यार्थी छन् ।
जापानमा अध्ययनरत सबैभन्दा बढी विदेशी विद्यार्थीमा चिनियाँ एक लाख ४८ हजार १५१, नेपाली एक लाख १६ हजार १५१, भियतनामी ४७ हजार १४५, दक्षिण कोरियन १४ हजार ५२३, इन्डोनेसियन ७ हजार ९२७ र फिलोपिनो २ हजार ७६९ जना छन् ।
जापानमा नेपालीको संख्या ३ लाख ९९२ पुगेको छ । जापानमा रहेका आप्रवासीमध्ये पाँचौ ठूलो संख्यामा नेपाली पर्छन् । त्यहाँ रहेका नेपालीमध्ये ९ हजार ९०८ जनासँग जापानकै पीआर छ । जापानमा रहेका आप्रवासीमध्ये चिनियाँ, भियतनामी, दक्षिण कोरियन र फिलिपिनेपछि ठूलो संख्यामा नेपालीको छ ।
जापान सरकारको तथ्याङ्कअनुसार, हाल जापानमा ९ लाख ३० हजार ४२८ चिनियाँ, ६ लाख ८१ हजार १०० जना भियतनामी, ४ लाख ७ हजार ३४१ जना दक्षिण कोरियन, ३ लाख ५६ हजार ५७९ जना फिलिपिनो, ३ लाख ९९२ जना नेपाली र २ लाख ६६ हजार ६९ जना इन्डोनेसियन छन् ।
स्टुडेन्ट भिसामा जापान जानेहरू धेरैजसौ रोजगारीको खोजीमा जाने गर्छन् । कामदार भिसामा भाषा तथा सीप जान्नुपर्ने, तर विद्यार्थी भिसामा जान सहज भएकाले पछिल्ला वर्षहरूमा जापानमा नेपाली विद्यार्थीहरूको संख्यामा वृद्धि भइरहेको छ ।
जापानमा विद्यार्थीले साताको २८ घण्टासम्म काम गर्न पाउँछन् । तर, कुनै कुनै विश्वविद्यालय/कलेजले यस्तो सुविधा दिँदैनन् । विश्वविद्यालय/कलेजले काम गर्न नदिएका केही विद्यार्थीहरू गुनासो गर्न टोकियोस्थित नेपाली दूतावास पुग्ने गरेका छन् ।
दूतावासमा नेपाली विद्यार्थीले गरेको गुनासोअनुसार उनीहरू चर्को शुल्क तिरेर जापान पुग्ने गरेका छन् । अधिकांशले चर्को व्याजमा ऋण लिएर जापान गरेका छन् ।
“जापान विश्वकै महँगो शहरमध्ये पर्छ । कोठाभाडा, खाने खर्च र ट्युशन शुल्क तिर्न साताको २८ घन्टाको कमाईले धौ–धौ पर्छ । त्यसमाथि नेपालमा लिएको ऋण तिर्न अभिभावकले पैसा माग्दा विधार्थीहरूमा मानसिक तनाव बढ्ने गरेको छ । यस्तै कारणले अप्रिय निर्णय लिएको पनि हुन सक्छ,” कार्यबाहक राजदूत पौडेलले भने ।
जापान पुगेर पनि काम नपाउनेहरूले त घरबाटै थप पैसा मागेर चल्नुपर्ने हुन्छ । काम गर्न पाउनेहरूले पनि नियमले दिएकोभन्दा बढी घण्टा काम गर्न पाउँदैनन् । त्यसो गरे उनीहरूमाथि कारवाही हुनेगर्छ ।
दूतावासका अनुसार, तोकिएको समयभन्दा बढी समय काम गरेको अभियोगमा जापानमा दैनिक २/३ जना नेपाली पक्राउ पर्ने गरेका छन् ।
जापानमा रहेका नेपाली विद्यार्थीको तनाव बढाउने अर्को कारण हो, होस्टेल चार्ज । जापानका शैक्षिक संस्था र नेपालका कन्सल्टेन्सीहरूसँग होस्टेल सञ्चालकहरूको मिलेमतो हुने गरेको छ । जसकाकारण तोकिएको होस्टेलमा मात्र बस्न विद्यार्थी बाध्य छन् । त्यतिमात्र होइन, होस्टेलको फि अग्रिम नतिरेसम्म भर्ना समेत लिइँदैन ।
जापानमा ६ महिनाको होस्टेल चार्ज करीब ३ लाख रुपैयाँ हुने गर्छ । यस्ता होस्टेलहरू पनि प्रायः नेपालीले सञ्चालन गरेका वा नेपाली संलग्न हुन्छन् ।
विद्यार्थीहरूको मृत्यु भएमा शव नेपाल लैजान वा यही अन्तिम संस्कार गर्न आवश्यक पर्ने खर्च तथा दुर्घटना भई अंगभंग भएको उपचार खर्च पनि शैक्षिक संस्थाले व्यर्होदैनन् । मृतकको शव नेपाल पठाउँदा करिब ११/१२ लाख रुपैयाँ लाग्छ । जापानमै अन्तिम संस्कार गर्दा २ लाख ८० हजार रुपैयाँ जति लाग्छ ।
जापानमा नेपालीहरूले सञ्चालन गरेका होटल तथा रेष्टुरेन्टको संख्या ६ हजारको हाराहारीमा छ । रेष्टुरेन्टमा काम गर्न आउनेलाई जापानले सहज तरिकाले कुक भिसा दिने गर्छ ।
तर त्यसरी लगेका व्यक्तिलाई होटल तथा रेष्टुरेन्ट सञ्चालकले काम नदिने, दिएमा पनि स्वास्थ्य विमा, सामाजिक सुरक्षा रकम दिँदैनन् । केही होटल र रेष्टरेन्ट सञ्चालकका यस्ता हर्कतले पनि नेपालीहरू जापान पुगेपछि तनावमा पर्ने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, असार १७, २०८३ ०८:३५